नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

|

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताउनुभयो ।

‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’

स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, युनियनका अग्रज नेतालगायतलाई आभार व्यक्त गरेको छ ।

यसैगरी नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी, प्रदेश र संघीय प्रतिनिधि परिषदलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबू रेग्मी, युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरी, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, जयनारायण शाह, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत कार्यसमिति चयन गरेर अन्य शाखालाई सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष प्रियास्मृत ढकालले आफुले सक्दो रचनात्मक कार्य गर्ने प्रयास गरिएको बताउनुभयो ।

उहाँले तीन वर्षीय कार्यकालका आफुलाई पनि धेरै कुराको सिकाई भएको बताउँँदै नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई पद हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले निर्वाचित टिमले अझ बढी रचनात्मक कार्य गर्न सकोस बनेर शुभकामना दिनुभएको थियो।

२०८३ भाद्र ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।