काठमाडौंमा ७ सय ३७ जना प्राथमिक उपचारक तयार, १७ प्रशिक्षक सम्मानित

|

काठमाडौं / नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको साझेदारीमा सञ्चालन गरेको आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार गरेको छ।

महानगरका ३२ वटै वडामा सञ्चालन गरिएको उक्त तालिमबाट ५७१ महिला र १६६ पुरुष गरी कुल ७३७ जना प्राथमिक उपचारक उत्पादन भएका हुन्।

तालिम सम्पन्न भएपछि शुक्रबार आयोजित समीक्षा तथा प्रशिक्षक सम्मान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डिोटेलको सभापतित्व रहेको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामा, काठमाडौं महानगर स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसी, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, काठमाडौं जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरलगायतको उपस्थिति रहेको थियो।

समीक्षा कार्यक्रममा तालिममा सहभागी, प्रशिक्षक तथा उपशाखाका प्रतिनिधिहरूले तालिमको प्रभावकारिता, आगामी कार्ययोजना तथा सुधारका विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

काठमाडौं महानगरपालिकासँग सम्झौता भएपछि ९४ दिनको अवधिमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत महानगरका विभिन्न वडामा तालिम सञ्चालन गर्न परिचालित १७ जना प्रशिक्षकलाई उत्कृष्ट योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले समुदायस्तरमा आकस्मिक अवस्थाको प्रभावकारी व्यवस्थापन तथा जीवनरक्षक प्राथमिक उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता तालिमलाई निरन्तरता दिने जनाएको छ।

२०८३ श्रावण ९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।