काठमाडौं / नेपाल रेडक्रस सोसाइटीले समुदाय तथा रेडक्रसकर्मीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले केन्द्रीय तदर्थ समितिका पदाधिकारी, सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका लागि अनिवार्य सेफगार्डिङ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार केन्द्रीय कार्यालयमा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रममा केन्द्रीय तदर्थ समितिका पदाधिकारी, सदस्य र उच्च पदस्थ कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो।
नेपाल रेडक्रसका अनुसार यौन दुर्व्यवहारसहित सबै प्रकारका शोषण, उत्पीडन तथा दुर्व्यवहारबाट समुदायलाई संरक्षण गर्न र रेडक्रसको कार्यस्थललाई सुरक्षित, मर्यादित तथा उत्तरदायी बनाउने उद्देश्यले देशभर पदाधिकारी, सदस्य, स्वयंसेवक र कर्मचारीलाई लक्षित गर्दै लैंगिक तथा समावेशीकरण विभागको संयोजनमा सेफगार्डिङ अभिमुखीकरण अभियान सञ्चालन भइरहेको छ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले समुदाय र रेडक्रसकर्मीको सम्मान तथा सुरक्षा संस्थाको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सुशासनका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने र सेफगार्डिङ सम्बन्धी व्यवस्था संस्थाको विधानमा समेत समेटिने जानकारी दिनुभयो।
अभिमुखीकरणमा नेतृत्व तथा स्वयंसेवकको प्रतिबद्धता, सेफगार्डिङसम्बन्धी प्रतिवेदन प्रणाली, उजुरी संकलन तथा सम्बोधन प्रक्रिया लगायतका विषयमा साझा बुझाइ विकास गरिएको थियो।

कार्यक्रमको समापन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यसमितिका अध्यक्ष डा. विशाल कुमार भण्डारीले संस्थाले “शून्य सहनशीलताको नीति” व्यवहारमै कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सुरक्षित, समावेशी र उत्तरदायी रेडक्रस निर्माणका लागि सबै तहका पदाधिकारी, कर्मचारी र स्वयंसेवकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटीले सेफगार्डिङलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा विकास गर्दै समुदायको विश्वास कायम राख्न यस्ता अभिमुखीकरण कार्यक्रमलाई देशव्यापी रूपमा निरन्तरता दिने जनाएको छ।






