दाङ। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजनामा डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी सचेतनामूलक गोष्ठी सम्पन्न भएको छ।
तुल्सीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको प्राविधिक सहयोगमा आयोजित गोष्ठीमा जुनियर रेडक्रस सर्कलका शिक्षक–नायक तथा रेडक्रसका स्वयंसेवक गरी ४० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत बिमल के.सी., शिव तिवारी र प्रकाश श्रीबन्द ले सहजीकरण गर्दै डेंगी रोगको संक्रमणका कारण, लक्षण, नियन्त्रण तथा रोकथामका प्रभावकारी उपायका बारेमा जानकारी दिएका थिए। सहभागीहरूलाई लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने तथा आवश्यक सावधानी अपनाएर डेंगीबाट बच्न सकिने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति मदन गौतम र जुनियर युवा समिति दाङका संयोजक भिमलाल मरासिनी लगायतको उपस्थितिमा सम्पन्न गोष्ठीमा डेंगी रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरिएको थियो।
आयोजकका अनुसार सहभागीहरूले गोष्ठीबाट प्राप्त ज्ञानलाई समुदायमा पु¥याई डेंगी नियन्त्रण तथा रोकथाम अभियानलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






