नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष कर्माचार्यद्वारा बाँके शाखाको निरीक्षण

|

नेपालगञ्ज / नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय समितिका कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी, कर्मचारी तथा प्रादेशिक रक्त सञ्चार केन्द्रको निरीक्षण तथा भेटघाट गर्नुभएको छ।

गत जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय समितिको कोषाध्यक्षमा मनोनित हुनुभएका कर्माचार्य मनोनयनपछि पहिलो पटक नेपालगञ्ज आउनुभएको हो।

नेपालगञ्ज भ्रमणका क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटी बाँके शाखा तथा शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रको निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले रक्त सञ्चार सेवाको अवस्था, सेवा प्रवाह, व्यवस्थापन तथा आगामी योजनाबारे जानकारी लिनुका साथै कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, रक्त सञ्चार सेवा समितिका संयोजक राजकुमार वर्मा तथा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूबीच शाखाको वर्तमान गतिविधि, रक्त सञ्चार सेवाको प्रभावकारी सञ्चालन, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल भएको थियो।

भेटघाटका क्रममा कोषाध्यक्ष कर्माचार्यले रेडक्रसको मानवीय सेवालाई अझ प्रभावकारी बनाउन सबै कर्मचारी तथा स्वयंसेवकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय रक्त सेवा, पारदर्शी व्यवस्थापन र सेवाग्राहीमैत्री कार्यशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

बाँके शाखाले केन्द्रीय नेतृत्वको भ्रमणले शाखाको कार्यसम्पादनलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

२०८३ असार २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।