नेपालगन्ज । 29th Cyclists Brigade ले लेफ्टिनेन्ट कर्णेल दीपक गुरुङको सम्मानमा विशेष “Farewell Ride” कार्यक्रम सम्पन्न गरेको छ । “Ride to Tripureshwar Dham” नाम दिइएको उक्त साइकल यात्रा शनिबार बिहान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
साइकल यात्राको गन्तव्य त्रिपुरेश्वर धाम तय गरिएको थियो । सहभागीहरू बिहान ६ बजे नेपालगन्जको धम्बोजी चोकमा भेला भएका थिए भने बिहान ६ः३० बजे मिलन चोक, कम्दीबाट यात्रा सुरु गरिएको थियो ।

आयोजकका अनुसार लेफ्टिनेन्ट कर्णेल दीपक गुरुङले बाँके जिल्लामा आएर साइकलिङ संस्कृतिको प्रवर्द्धन, अनुशासन र नेतृत्वमार्फत समूहलाई महत्वपूर्ण योगदान पुर्याएका कारण उहाँप्रति सम्मान व्यक्त गर्न उक्त विशेष राइड आयोजना गरिएको हो । कार्यक्रममा सहभागी साइकलिस्टहरूले “स्वास्थ्यका लागि साइकल, स्वच्छ वातावरणका लागि साइकल” भन्ने सन्देशसमेत प्रवाह गरेका थिए ।
29th Cyclists Brigade ले सम्पूर्ण साइकलप्रेमी तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गरेको छ । आयोजकका अनुसार उक्त यात्रा केवल बिदाइ कार्यक्रम मात्र नभई मित्रता, सम्मान र सामूहिक यात्राको प्रतीकका रूपमा सम्पन्न गरिएको थियो ।






