राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

|

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गरेका छन्। यससँगै पछिल्ला तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ।

शनिबार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा ती अध्यादेश जारी गरिएको हो।

यसअघि शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो भने बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ प्रमाणीकरण भएका थिए।

सरकारले कुल आठ वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा पठाएकोमा हालसम्म ६ वटा जारी भइसकेका छन्। बाँकी दुई अध्यादेश भने अझै विचाराधीन अवस्थामा रहेका छन्।

२०८३ बैशाख १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।