नेपालगन्ज / साहित्यिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा ‘वागेश्वरी सर्वदा पुरस्कार’ अर्पण तथा विशेष साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ। सर्वदा साहित्य सङ्गम, नेपालगन्जको आयोजनामा आगामी शनिबार विविध साहित्यिक कार्यक्रम सम्पन्न हुन लागेको हो।
कार्यक्रमअन्तर्गत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याउने स्रष्टालाई ‘वागेश्वरी सर्वदा पुरस्कार’ अर्पण गरिनेछ। साथै साहित्य क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै भर्खरै प्रकाशित कृतिहरूको गहन समीक्षा र टिप्पणी पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
यसैगरी कार्यक्रममा स्थानीय तथा आमन्त्रित सर्जकहरूबाट कविता, गजल तथा मुक्तक वाचनसमेत गरिनेछ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरीले साहित्यिक कार्यक्रमहरूले मोफसलमा सिर्जनशील वातावरण विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबै साहित्यप्रेमीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरे। “यस्ता कार्यक्रमले नयाँ तथा पुराना स्रष्टाबीच अनुभव आदान–प्रदानको अवसर सिर्जना गर्नुका साथै साहित्यिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउँछन्,” अध्यक्ष गिरीको भनाइ छ।
आयोजक समितिले सम्पूर्ण साहित्य अनुरागीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक आग्रह गरेको छ।






