खेलकुद परिषद्‌को सदस्यसचिवको जिम्मेवारी सुर्खेत निवासी ढकालले पाए

|

काठमाडौं / युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी दिएको छ। सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए। राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिए।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बिहीबारदेखि लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सहित सबै बोर्ड सदस्यको पद रिक्त भएको थियो। खेलकुद मन्त्रालयले सदस्यसचिव सहितका सदस्यको नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ। नयाँ ऐन लागु भएसँगै खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसहित परिषद्का सबै बोर्ड सदस्यको पद खारेज भएको थियो।

अब नयाँ सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकूद मन्त्रालयको सचिव संयोजक तथा एक महिला र एक विज्ञ रहेको तीन सदस्यीय समितिले सदस्यसचिवको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ। असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लाागि राखेपको सदस्सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

२०७७ असार २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।