टीकापुर साहित्य महोत्सव–२०८२ सम्पन्न, ‘थारू साहित्य तथा संस्कृति’ केन्द्रमा

|

टीकापुर, कैलाली / टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न ‘टीकापुर साहित्य महोत्सव–२०८२’ (तेस्रो संस्करण) चैत १५ गते सफलतापूर्वक समापन भएको छ। चैत १३ गतेदेखि सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै क्षेत्रीय सीमाभन्दा माथि उठेर राष्ट्रिय स्तरको साहित्यिक तथा सांस्कृतिक उत्सवको रूप लिएको आयोजकले जनाएको छ।

यस वर्षको महोत्सव ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को अवधारणामा केन्द्रित रह्यो। थारू समुदायको मौलिकता, भाषा, परम्परा, लोकजीवन र संस्कृतिलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।

महोत्सव अवधिभर भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, पहिचान, राजनीति र समसामयिक विषयमा २१ वटा विशेष सत्र सञ्चालन गरिएका थिए। देशका ख्यातिप्राप्त भाषाविद्, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सक, अनुसन्धाता र सामाजिक अभियन्ताहरूको सहभागिताले कार्यक्रमलाई बौद्धिक तथा सिर्जनात्मक उचाइ प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत कर्णाली नदीमा जलविहार, थारू सांस्कृतिक नृत्य, सडक नाटक, लेखन कार्यशाला, प्रदेशस्तरीय कविता महोत्सव, नाटक मञ्चन, काव्य तथा गजल श्रवण, साङ्गीतिक प्रस्तुति तथा सुदूरपश्चिमको देउडा कार्यक्रम सम्पन्न भएका थिए। साथै, लोपोन्मुख थारू सांस्कृतिक सम्पदा ‘रामलीला नाच’ को प्रस्तुति महोत्सवको विशेष आकर्षण बनेको थियो।

महोत्सवअघि नै चैत ७ गतेदेखि वरिष्ठ नाटककार अशेष मल्लको अगुवाइमा विभिन्न स्थानमा नाट्य कार्यशाला र सडक नाटक प्रदर्शन गरिएको थियो। त्यस्तै, चैत ९ देखि ११ गतेसम्म नीलम कार्की निहारिका र केशव दाहालको सहकार्यमा सञ्चालन गरिएको लेखन कार्यशालाले युवाहरूमा सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग पुर्‍याएको आयोजकको भनाइ छ। थारू समुदायका गीत, नृत्य, भेषभूषा, जीवनशैली र मौखिक परम्परालाई विशेष प्राथमिकता दिइएको महोत्सवले सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ। साथै, विभिन्न समुदायबीच सांस्कृतिक आदान–प्रदान र सहअस्तित्वको सन्देश प्रवाह गर्न पनि महोत्सव सफल भएको आयोजकले जनाएको छ।

विद्यालय र क्याम्पसहरूमा परीक्षा चलिरहेका कारण विद्यार्थी सहभागिता अपेक्षाकृत कम रहे पनि साहित्यिक समूह, सांस्कृतिक संस्था र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार महोत्सवले टीकापुरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त प्रमुख अतिथि, प्रदेश सभा सदस्य ललिता सुनार विशिष्ट अतिथि तथा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

महोत्सव सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न स्थानीय तह, बैंक तथा निजी क्षेत्रले सहयोग गरेका थिए। साथै, आयोजकले सहभागी अतिथि, प्रायोजक, स्वयंसेवक र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ। ‘साहित्यमार्फत सामाजिक सद्भाव’ भन्ने मूल नारासहित आयोजित यस महोत्सवले बहुभाषिक, बहुसांस्कृतिक समाजमा सहअस्तित्व र आपसी समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको निष्कर्ष छ।

२०८२ चैत्र १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।