बिहार (भारत) ।मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउँदै आएका १२ जना नेपाली पत्रकारहरू भारतको नालन्दा खुला विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा नालन्दा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भारतका पूर्व सिक्किम राज्यपाल गंगा प्रसादले अवार्ड प्रदान गर्नुभएको हो।

सम्मानित हुने नेपाली पत्रकारहरूमा एभिन्यूज खबरका राजु नापित, सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल टेलिभिजन बाँके प्रतिनिधि रुद्र सुबेदी, स्काई न्युज नेपालका सम्पादक आकाश तारा बयक, गोरखापत्रकी लक्ष्मी तिमिल्सिना, द वर्ल्ड नेपाल न्युज डटकमका सम्पादक सोम गुरुङ, सदरलाइन डटकमका समाचार संयोजक अजमत अलि सिद्दिकीसहित १२ जना पत्रकारहरू रहेका छन्।
कार्यक्रममा नेपालका साथै भारत र बंगलादेशका पत्रकारहरूलाई समेत अवार्ड प्रदान गरिएको थियो।
आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा “पत्रकारिता र मानवअधिकार : एक वैश्विक चुनौती” विषयमा विस्तृत छलफल गरिएको थियो। सम्मेलनमा सार्क राष्ट्रका करिब दुई सय जना पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित यस सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशहरूबीच आपसी समझदारी, सहकार्य र अन्तर्राष्ट्रिय पत्रकारिता सहभागिता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्राललगायत करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहेको थियो।
सम्मेलनको दोस्रो दिन सहभागी पत्रकारहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन भ्रमण गराइएको थियो। भ्रमणका क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, प्राचीन शैक्षिक परम्परा र सांस्कृतिक वैभवबारे जानकारी गराइएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको जानकारी दिनुभयो। यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।






