लुम्बिनी कप : कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

|

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आजको खेलमा कर्णाली प्रदेश प्रदेश फुटबल संघविरुद्ध ६-० को एकतर्फी जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ , रेनुका नगरकोटे , गीता राना , अनिता केसी र सविता रानामगरले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । खेलमा रेनुका नगरकोटे ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले एपिएफको लागि डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् ।

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

२०८२ बैशाख ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।