बाँकेलाई ३ शुन्य गोलले हराउँदै रौतहट सेमिफाइनलमा प्रवेश

|

नेपालगन्ज । बाँकेलाई ३ शुन्य गोलले हराउँदै ‘रौतहट डिएफए’ नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्यो ।

नेपालगन्ज रंगशालामा आइतबार भएको खेलमा रौतहटका लागि जेनिफर रानामगरले २८ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि रौतहटकै समिक्षा राईले ४५ औं र पियाली रायले ५१ औँ मिनेटमा एक/एक गोल थपे । खेलमा रौतहटकी सिमरन राई प्लेयर अफ द म्याच घोषित भएकी छन् । प्रतिनिधि सभाका सांसद एवम् कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौंरले नगद ५ हजारसहित उनलाई पुरस्कृत गरे । बाँकेले गोल हान्ने मौका थुप्रै पटक गुमायो ।

बाँकेकी गोलकिपर राधिका ओली घाइते भइन् । त्यसपछि बाँकेले उनको ठाउँमा प्रतिक्षा भण्डारीलाई मैदानमा पठाएको थियो । सेमिफाईनलमा प्रवेश गरेको रौतहटले अब यही बैशाख १० गते फाईनलका लागि प्रतिस्पर्धा गर्नेछ । रौतहटले कर्णाली केएफए र सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब मध्ये कुनै एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली र एपिएफ सेमिफाईनल प्रवेशका लागि सोमबार(भोलि) मैदानमा उत्रिदैछन् ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सुरु भएको प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । यही बैशाख १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

२०८२ बैशाख ७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।