जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि

|

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको छ । च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
१ सय ८५ रनको लक्ष्य जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए । यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।

पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको थियो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो । एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

२०८१ पुष ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।