श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

|

काठमाडौँ / साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो। नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। यससँगै अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन्।

समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन्। बंगलादेश र भुटान पहिलो सेमिफाइनलमा खेल्नेछन्। पहिलो सेमिफाइनल खेल दिउँसो साढे १ बजे हुनेछ।

दोस्रो सेमिफाइनलमा नेपाल र भारत खेल्ने भएका हुन्। सो खेल आइतबार साँझ साढे ६ बजे हुनेछ। दुवै सेमिफाइनल खेल एकैदिन हुनेछ। अघिल्लो संस्करण पनि यी चार टोली नै सेमिफाइनलमा भिडेका थिए।

आजको खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो। १२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो।

 

२०८१ कार्तिक ८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।