बर्दियाका शिक्षकहरुको सकारात्मक सिकाई सम्बन्धि गोष्ठी सम्पन्न

|

गुलरिया । बर्दियाका शिक्षकहरुका लागि सकारात्मक सिकाइ वातावरण सिर्जना विषयक २ दिने क्षमता विकास गोष्ठी गुलरियामा सम्पन्न भएको छ । बर्दिया जिल्लाका ४ वटा पालिकाका गरि २५ जना विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई गोष्ठी गरिएको हो ।

शिक्षकहरुमा व्यक्तिगत एवम् पेशागत हिसावले सकारात्मक सोचको विकास गरी विद्यालयको शैक्षिक वातावरणलाई तदनुरुप विकास गर्ने, विद्यालयमा बालमैत्री र लैङ्गिकमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नका लागि शिक्षकहरुमा आवश्यक सिप र क्षमताको विकास गर्ने मुख्य उद्धेश्य सहित गोष्ठि संचालन गरिएको थियो । गोष्ठिमा सहभागीता जनाएका प्रधानाध्यापक तथा शिक्षकहरुले सिकेका कुराहरु आफ्नो कार्य क्षेत्रमा गइ सबैको सहमतिमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
पाठ्यक्रमले अपेक्षा एवम् निर्धारण गरेका परियोजना कार्य र अन्य प्रयोगात्मक क्रियाकलापहरूलाई उपयुक्त किसिमले योजना बनाइ कार्यान्वयन गरेको हुनुपर्ने, कुनै पनि पाठको सहजीकरण गर्नुपूर्व उक्त पाठमा भएका कुरा सिकेपछि हुने फाइदालाई संक्षेपमा उल्लेख गर्दै शिक्षण गर्नुपर्ने र मूल्याङ्कन गर्दा एप्पल विधि अवलम्बन गर्नुपर्ने, कम्तिमा माध्यमिक तहमा कक्षा अर्थात ग्रेडका आधारमा नभइ विषयको आधारमा शिक्षण सिकाइ कक्षको व्यवस्थापन गरी कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई अनुपस्थित भएकै दिन अविलम्ब सम्पर्क गरी अनुपस्थितिको कारण र समाधानका उपायका सम्बन्धमा विद्यालयले अभिभावकसँग सहकार्य गर्नुपर्ने सहित ३१ बुँदाहरुमा सामुहिक प्रतिबद्धता जनाएका बि-ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भयो ।

विद्यार्थी अभिभावक र शिक्षाका सरोकारवालाहरुसँग मुस्कुराउदै प्रस्तुत हुने क्षमताको विकास गर्ने, विद्यार्थीहरूलाई पहिलो नामबाटै सम्बोधन गरी भलाकुसारी र सम्बाद गर्नुपर्ने, शिक्षकले आफूले सहजीकरण गर्नुपर्ने हरेक विद्यार्थीहरूका सक्षमता र सम्भावनाहरूको पहिचान गरी उनीहरूलाई उक्त पक्षको प्रवर्धनका लागि सहयोग र परामर्श प्रदान गर्नुपर्ने भन्दै साझा प्रतिबद्धता जनाएका छन । गोष्ठिको प्रमुख प्रशिक्षक कर्णाली प्रदेशका पुर्व सदस्य जीतबहादुर शाह रहनु भएको थियो । भेरी विशिष्टता समुहको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम गरिएको संयोजक शर्माले जानकारी गराउनु भयो । बुधवारबाट संचालन गरिएको २ दिने गोष्ठी बालविवाह  न्युनिकरण परियोजना अन्तर्गत गरिएको थियो ।

२०८१ श्रावण ९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।