तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाद्धारा वरिष्ठ गायिका इन्दिरा गोलेको उपचारका लागि सहयोग

|

क्यालिफोर्निया/ बरिष्ठ गायिका इन्दिरा गोलेको स्वास्थ्य उपचारका लागि अमेरिकाको क्यालिफोर्नियास्थित तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले ७ हजार ८ सय ८३ अमेरिकी डलर अर्थात रु. १० लाख ५७ हजार १ सय १० रुपिया रकम उपलब्ध गराएको छ।

तामाङ कोअपरेसन सोसाइटीका पूर्व अध्यक्ष कुमार दोङको पहलमा संकलित उक्त रकम नेपालबाट इन्डिजिनियस टेलिभिजनमा प्रसारित कार्यक्रम डम्फु सेलोमार्फत उपलब्ध गराएको हो ।

कार्यक्रम डम्फु सेलोको हालै छायांकन गरिएको कार्यक्रममा उपस्थित हुनुभएकी NANC का पूर्व उपाध्यक्ष पार्वती लामा तामाङ र तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया,कार्यसमितिका बर्तमान सदस्य फुलम योन्जन तामाङले नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, इन्दिरा गोले बचाऔ, अभियानका संयोजक योगेश लामा र कोषाध्यक्ष बैरागी मोक्तानलाई हस्तान्तरण गर्नुभएको थियो ।
रकम ग्रहण गर्नुहुँदै संघका अध्यक्ष विशाल काल्तानले वरिष्ठ गायिका इन्दिरा गोलेको हाल ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको र उहाँको हाल स्वास्थ अवस्था सुधारउन्मुख भएपनि खतरा मुक्त नरहेको जानकारी दिनु भयो ।
काल्तानले भन्नुभयो–उहाँको क्यान्सर रोग पुरानो नै हो तर अहिले फेरि आन्द्रा र कलेजोमा पनि समस्या देखिएकोले थप उपचारको लागि छिमेकी मुलुक भारतमा लाने योजना रहेको छ ।
तर यसका लागि आवश्यक आर्थिक अभावका कारण उहाँको उपचारको लागि सबैलाई सहयोगको अपिल गर्दै यसमा अमेरिकाबाट को-अपरेशसन सोसाइटीले यति ठूलो रकम सहयोग गर्नुभएकोमा उहांले आभार प्रकट गर्नुभएको छ ।

गायिका गोलेको उपचारका लागि कति रकम आवश्यक पछै भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष काल्तानको भनाई थियो–क्यान्सर रोग आफैमा घातक रोग भएकोले गायिका गोलेको स्वास्थ्य उपचारका लागि यति नै रकम आवश्यक हुने भनेर भन्न सकिदैन ।
कार्यक्रममा NANC को पुर्व उपाध्यक्ष पार्वति लामा तामाङ, सोसाइटी अफ टेक्सास अमेरिकाका निवर्तमान अध्यक्ष सूर्य मोक्तान र वर्तमान महासचिव प्रणिस तामाङले पनि गायिका गोलेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गर्नुभएको थियो ।


नेपालमा हुने विभिन्न समस्यामा तामाङ को-अपरेसन सोसाइटीले विभिन्न अभियान सञ्चालन गरिएकोमा यसपटक गायिका गोलेको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको हो ।
सोसाइटीका अध्यक्ष सुरज पाख्रिनले एकसाता मात्र सञ्चालन गरिएको सहयोग अभियानमा सोसाइटी र सोसाइटीका ५९ जना सहयोगी शुभचिन्तकहरु सहभागि हुनुभएको जानकारी गराउनु भयो ।
बरिष्ठ गायिका इन्दिरा गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो,देउडा जस्ता हजारौ गीतमा स्वर दिइसक्नु भएको छ । गायिका गोलेलाई केहि वर्ष पहिले पाठेघरको क्यान्सर भएको थियो ।
पाठेघरको क्यान्सरको सफल उपचारपछि उपचारपछि पनि गायिका गोलेले सयौको गीत रेकर्ड मात्र होइन सार्वजनिक सभा समारोहमा समेत गाइसक्नु भएको छ ।

२०८१ मंसिर २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।