पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

|

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको उनका भाञ्जा सुरज भट्टराईले जानकारी दिए ।

फ्रन्टलाइन अस्पतालका अनुसार ढुंगाना घरमा बेहोस भएपछि अस्पताल ल्याइएका थिए । काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएपछि ढुंगानालाई अस्पताल लगिएको थियो । कलेजोसम्बन्धी समस्या देखिएका ढुंगाना घरमै औषधि उपचार गराइरहेका थिए । प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएकाले परिवारजनमा गहिरो समवेदना !’’

२०८१ मंसिर २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।