कर्णाली हाफ म्याराथन विजेतालाई समान ५५ हजार

|

सुर्खेत । बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनमा खुल्लातर्फका विजेता महिला तथा पुरुष खेलाडीलाई समान नगद ५५ हजारले पुरस्कृत गरिने भएको छ । त्यसैगरी दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तृतीय स्थानलाई २० हजार नगदले पुरस्कृत गरिने आयोजक रेश नेपालले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने हाफ म्याराथनमा पुरुष ४५ बर्षमाथि उमेर समुहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फ विजेतालाई बिशेष प्याकेजद्वारा पुरस्कृत गरिनेछ ।
रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले नगद पुरस्कार सम्बन्धि निर्णय गरेको हो । आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिनेछ । विधाहरु थ्प गर्दै लगिनेछ । साथै पहिलो संस्करणमा स्थानीयको सहभागिता र चासोलाई मध्यनजर गर्दै यसको कोर्षलाई आधिकारिकताका लागि चाँडै पहल गरिनेछ । कर्णाली हाफ म्याराथनका विजेतामध्ये उत्कृष्ट समय दिने खेलाडीलाई विदेशी भुमिमा सञ्चालन हुने वल्र्ड एथ्लेटिक्सबाट लेवल प्राप्त म्याराथनमा सहभागिताको अवसर प्रदान गर्ने तयारी समेत आयोजकले गरेको छ । यसबारे चाँडै निर्णय लिइनेछ ।
यसैक्रममा कर्णाली हाफ म्याराथनका लागि सम्पुर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको छ । त्यसैगरी कुमारशमसेर थापालाई सदस्यसचिवको जिम्मेवारी प्रदान गरिएको छ । रेश डाइरेक्टरमा पुर्व मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । अन्य जिम्मेवारी क्रमशः प्रदान गर्ने तयारी आयोजकको छ ।
विगत नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको हो । धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा  दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रम तयारी गरेको छ । आफनो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन सञ्चालन गर्न लागिएको हो । यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि रेस नेपालले तयारी गरेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो ।

२०८१ बैशाख २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।