कर्णाली प्रदेशकाका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

|

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत माग्ने भएका छन्। मुख्यमन्त्री कँडेलले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने भएका हुन्।मुख्यमन्त्री पदमा नियुक्ति पाएको दुई सातापछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्। उक्त प्रयोजनका लागि उनले पठाएको पत्र प्रदेशसभा सचिवालयले मंगलबार नै दर्ता गरिसकेको छ। यसअघि सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डाका विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको थिएन।

सहमतिअनुसार एमालेले मुख्यमन्त्री पदसहित चार मन्त्रालय र नेकपा माओवादी केन्द्रले चार मन्त्रालय पाएका छन्। माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाएको छ भने एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

कँडेल गत चैत २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन्। विपक्षीतर्फ कांग्रेसका १४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।

२०८१ बैशाख १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।