कर्णाली हाफ म्याराथनको संयोजकमा देव कुमार सुवेदी चयन

|

सुर्खेत । कर्णाली हाफ म्याराथन सफल पार्न सर्वपक्षीय समन्वयकारी भुमिकाका लागि संयोजकको जिम्मेवारीमा देव कुमार सुवेदीलाई मनोनयन गरिएकोछ । सुर्खेतका विद्यालयका विद्यार्थीहरुलाई सहभागिता गराउनका साथैं विभिन्न पेशा व्यवसाय सम्बद्ध व्यक्ति एवं संस्थालाई म्याराथनमा बृहत सहभागिता गराउन प्रभावकारी ढंगले समन्वयको लागि जिम्मेवारी प्रदान गरिएको रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो।

रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने रेस नेपाल उर्जाशील युवा सञ्चारकर्मी र खेलकर्मी सम्मिलित गैर नाफा मुलक संस्था हो । यसले दौड(खेलकुद) विधामार्फत सामाजिक जागरण, लैंगिक समानता र पर्यापर्यटनका क्षेत्रमा काम गर्दछ । रेस नेपालले नेपालगन्ज म्याराथनको एक दसक यात्रा पुरा गर्ने क्रममा विभिन्न स्थानमा रोड रेस आयोजनाका कार्यक्रम अघि सारेको छ । यसैक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदलगायत निकायको सहयोगमा कर्णाली हाफ म्याराथनको यात्रा आरम्भ हुँदैछ । विश्व म्याराथन(एम्स सर्टिफाइड)बाट मान्यता प्राप्त नेपालगन्ज म्याराथन जस्तै कर्णाली हाफ म्याराथनलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने लक्ष्यका साथ रेस नेपाल अघि बढेको छ ।
म्याराथन संसारमै अति लोकप्रिय इभेन्ट मानिन्छ । समाजका हरेक तह र तप्का, हरेक उमेर समुह तथा विभिन्न पेशा एवं व्यवसायसम्बद्ध व्यक्तित्वहरु एकैपटक एक ठाउँमा प्रतियोगिका रुपमा उभिने एकमात्र विधा म्याराथन हो । साथै म्याराथन सञ्चालन हुने सहरको विकास, समृद्धि, कला, संस्कृतिलाई संसारभर देखाउन मिल्ने विधा भएकाले म्याराथनको लोकप्रियता चुलिदो छ ।
कर्णालीले इतिहासमै पहिलोपटक आयोजनाको अवसर पाएको दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने पनि यस म्याराथनको उद्देश्य हो । यद्यपी रेस नेपालले सरकारी तथा नीजि क्षेत्रको सहयोग एवं सहकार्यमा हरेक बर्ष सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन आयोजना गर्नेछ । कर्णाली हाफ म्याराथनमा २१ किमी महिला र पुरुष, ५ किलोमिटर स्कुलस्तरीय दौड(६–८कक्षा, ९–१२ कक्षा), एक किलोमिटर किड्स रन(पाँच कक्षासम्म), ह्वीलचेयर दौड र ५ किमी च्यारिटी रन(समाजका प्रतिष्ठित व्यक्ति सम्मिलित हुने) समावेश गरिएको छ । यही बैशाख २९ गते शनिवार बिहान हुने कर्णाली हाफ म्याराथनका बारेमा विस्तृत चाँडै सार्वजनिक गरिने आयोजकले बताएको छ ।

 

२०८१ बैशाख १०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।