“कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हो

|

१५ असार, काठमाडौं

प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै धान दिवस मनाउन आह्वान गरेका हुन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए ।

 

 

उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छ ।

राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।

तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताउँदै प्रधानमन्त्री ओलीले सिँचाइ सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, न्यूनतम समर्थन मूल्यको घोषणा जस्ता विषयलाई वर्तमान सरकारले जोड दिएको बताए ।

२०७७ असार १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।