आज भाइटीका पर्व मनाईदै, शुभ साइत १०ः५१ बजे

|

काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकको पाँचौं दिन बुधबार भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका ग्रहण गर्दैछन् । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार भाइटीकाको साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहे पनि दिनभर लगाउन कुनै बाधा हुँदैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई पनि गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

२०८० कार्तिक २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।