भारतमा पहिलोपटक डिजेलको मूल्य पेट्रोलको भन्दा बढी पुगेको छ

|

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतमा पनि त्यसको असर पर्दै गएको छ । पछिल्लो १८ दिनदेखि दैनिक जसो इन्धनको मूल्य वृद्धि हुँदै आएको भारतको नयाँ दिल्लीमा बुधबार पेट्रोलभन्दा डिजेलको मूल्य महंगो भएको छ ।

दिल्लीमात्रै नभई पुरै भारतमा पहिलोपटक डिजेलको मूल्य पेट्रोलको भन्दा बढी पुगेको हो ।

१८ दिनको अवधिमा डिजेलमा १० रुपैयाँ ४८ पैसा प्रतिलिटर मूल्य वृद्धि भएको छ भने पेट्रोलमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेको छ ।

बुधबार पनि सरकारी तेल कम्पनीले इन्धनको मूल्य बढाएको छ । जस अनुसार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७९ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

पेट्रोल र डिजेलमा राज्य तथा केन्द्र सरकारले लगाउने करको अन्तरका कारण मूल्यमा फरक पर्ने गर्दछ । दिल्लीमा पेट्रोलमा ६४ प्रतिशत र डिजेलमा ६३ प्रतिशत कर लगाइएको छ ।

लगभग समान करका कारण पेट्रोल र डिजेलको मूल्यमा हुने अन्तर पनि अब समान अवस्थामा पुग्न थालेको छ ।

२०७७ असार १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।