(कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण

|

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनु भएको छ ।
आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिँदै निरोगी नेपालको उद्देश्य प्राप्ति गरिने बताउनुभयो ।

सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएको ओलीको भनाइ छ ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्दे उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गर्नुभयो ।

तनाव, द्वेष, इर्ष्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको बताउनुभयो । योग महत्वका बारेमा जनचेतना अभिवृद्धिका लागि यसका सरल विधि जनसाधारणमा पुर्‍याउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्दै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्त्व आधुनिक युगमा झनै बढेको बताउनुभयो ।

नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परासमेत थालनी भएको छ ।
संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

२०७७ असार ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।