५३ वर्षअघि चोरी भएर अमेरिका पुर्‍याइएका बुद्ध र नृत्यादेवीको मूर्ति नेपाल फिर्ता

|

क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो ।

दूतावासका अनुसार बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपालबाट चोरी भएका थिए ।
दूतावासले ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा पुरातात्विक सम्पदाहरूको संकलन गर्ने व्यक्तिसम्म पुगेको र उनीबाट फिर्ता पाउन सकिएको जनाएको छ ।
सन् १९७० मा नृत्यादेवी र बुद्धको दुवै मूर्ति चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई अप्रिल १२ मा हस्तान्तरण गरेको ढकालले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनु भएको छ ।

त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई नेपाली दूतावासले धन्यवाद दिएको छ र निर्माता माइकल फिलिप्सलाई यो मुर्ति फिर्ता गरेको भन्दै दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

२०८० बैशाख १७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।