ह्यापी भ्यालेन्टाइन डे -दिक्षा बस्नेत

|

गुलाब होईन,गुरांससंग प्रीती लगाउनेलाई,
चेरी भन्दा काफल संग, परिचित हुनेलाई
अटल बिश्वासका धनी ति हिमालहरु
प्रकृतिका प्रतिमुर्ती रारा, फेवा,मुगू,
सबै सबै सम्झिदैं आज,

धेरै युध्दहरु बिचैमा छोडेर परदेस लागेका
तर,शरीरभरी चन्द्र सुर्य ओढेर हिडेका,
अनि मुटुमा त्यो सुन्दर नेपाल बोकी हिड्ने
सम्पुर्ण आ- प्रबासी नेपाली हरुलाई
ह्यापी भ्यालेन्टाइन डे!

शब्द शब्दमा पोखिएर ,
अर्थपूर्ण बाक्य बनाउन सिकाउने
तोते र तातेमा बर्णमाला घोकाउने
थाकेको अनुहार बिर्सिएर,
काखमा राखी दशधारा रसाउदै
पसिना संग जिउन सिकाउने

अनी
त्यो अनुहार भरीको
मुस्कान पोखिदिएर,
न्यानो वात्सल्य बांड्दै
मलाइ,निस्वार्थ माया छरीरहने,
मेरी आमालाई
मेरो भ्यालेन्टाइन डे!

संघर्षको कथा बुन्दै,
जिबनको पहाडी थुम्कोमा
उभिदै,पलास झैँ मुस्काराउने
धेरै हिउंद र शरद पिउदै
जिबनको मुलबाटो पहिल्याउदै
ह्रदयका उचाइमा पुग्न सिकाउने
कुनै कथाको सफल पात्र झैँ
अटल बिश्वासका धनी,
मेरो बाबालाई
मेरो ह्यापी भ्यालेन्टाइन डे !

अनि
अल्पबिराम जस्तै आधा जिन्दगीमा
कत्तिलाई उछिनियो,कत्ति होलान पछाडी
उभिएर प्रश्न गर्छु,
पाइला -पाइलामा आफैलाई
कोहि मित्र दयालु,कोहि होलान निर्दयी
तर जे भोगियो,जे सिकियो
भोगाउने र सिकाउने
सबै मित्रहरुलाई,
ह्यापी भ्यालेन्टाइन डे!

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।