क्यालिफोर्निया सन्फ्रान्सिस्कोमा घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न

|

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले अमेरिकाका विभिन्न राज्यहरुमा कन्सुलर सेवा प्रदान गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी सन्फ्रान्सिस्कोमा पनि ४ दिने घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न गरेको छ ।

उक्त काउन्सुलर शिविरमा ६ सय ३७ जनाले सेवा प्राप्त गरेका छन्। नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र एनआरएनए च्याप्टर क्यालिफोर्नियाको व्यवस्थापन सहयोगमा शिविर चार दिनसम्म सञ्चालन भएको थियो ।

नोभेम्बर २७ देखि २९ सम्म आयोजित शिविरमा पहिल्यै एपोइण्टमेण्ट लिएका बाहेक पनि सेवा आवश्यक भएका नेपालीहरुले अरु थुप्रै रहेको हुदां एक दिन थप गरेर शिविर चार दिनसम्म सञ्चालन भएको थियो ।

यो शिविरका लागि दूतावासबाट डीसीएम कुमार खरेल, तेस्रो सचिव जनक सिंह र अर्का कर्मचारी रामजी दाहाल कामका लागि आउनु भएको थियो र अवैतनिक महावाणिज्य दुत ऋषि ढकाल पनि शिविर अवधिभर खटिनुभएको थियो ।

न्यान्स र एनआरएनका पदाधिकारीलगायत बे एरियाका विभिन्न संस्थाका पदाधिकारी एवं समाजसेविहरुसमेत शिविरमा स्वयं सेवकका रुपमा खटिनु भएको थियो । यो कार्यमा खटिएका सम्पुर्ण सहयोगी संघसंस्था र संवयंमसेवकहरुलाई न्यान्सको तर्फबाट अध्यक्ष प्रितेश कार्कीले र एनआएनएको तर्फबाट क्षेत्रीय संयोजक श्रीराम थापाले धन्यवाद दिनुभयो ।

यस क्षेत्रका संघ संस्था सामाजिक अभियन्ता, बुद्धिजिवी, सूचना प्रविधिका विज्ञ, युवाको सहयोगले यो शिविर सफल भएको कार्किले बताउनुभयो ।
शिविर समापनका अवसरमा दूतावासको कन्सुलर सेवा मिसन क्यालिफोर्नियामा लिएर आउनुभएको टिमलाई विशेष धन्यबाद ब्यक्त गर्दै महावाणिज्य दुत ऋषि ढकालले शिविरबाट (लस एन्जलसमा १८२ र सान फ्रान्सिस्कोमा ६३७) कुल ८१९ जनालाई कन्सुलर सेवाहरू उपलब्ध गराइएको जानकारी द वर्ल्ड नेपाल न्युजलाई दिनुभयो ।

यी शिविरहरूका कारण क्यालिफोर्नियामा रहेका नेपाली समुदायका सदस्यहरूले १२ लाख अमेरिकी डलरभन्दा बढी बचत गरेको पनि उहाँको भनाई रहेको छ ।

यी सेवाहरूको लागि वाशिंगटन डीसीसम्म जाने आउने जहाज भाडा तथा त्यसका लागि विदासमेत लिएर जानुपर्ने अवस्थालाई शिविरले ठुलो राहत दिएको ढकालले उल्लेख गर्नुभयो ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।