
चितवन / नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा शुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको छ । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको वताउनुभयो । हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरु अताल्लीन थालेको छन्, जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन । एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंतिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ । पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुनेछ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । अध्यक्ष ओलीले बन्दसत्रमा व्यक्त गर्नुभयो ।
महाधिवेशनमा आउनुभएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरु तथा शुभकामना सन्देश पठाउनु हुनेहरुप्रति अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गर्नुभयो । बन्द सत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको छ । बन्दसत्रमा कम्युनिष्ट पार्टी अफ बंगलादेशका मो. हसन तारिक्यू चौधरी, हसनसिन चौधरी, अब्दुल्लाह अल काफी, भारतीय कम्युनिष्ट पार्टी ( माक्र्सबादी) का जोगिन्द्र शर्मा, जनता विमुक्ति पेरामुनाका विजिथा हेराथ, कम्बोडियन पिपुल्स पार्टीका स्वोस यारा, कम्यनिष्ट पार्टी अफ इण्डिया माले लिबरेशनका सन्दिप सौरभले महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । भारतको काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी लगायत भाइचारा तथा मित्र पार्टीले पठाएका शुभकामना सन्देश बाचन गरिएको थियो ।