नेपाली महिला क्रिकेट टोलीले डब्लूटि२० आई सिरिज जित्न सफल

|

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटि२० आई सिरिज जित्न सफल भएको छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज खेलेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अल आउट भयो ।

त्यसअघि वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् ।

पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ ।

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७८ मंसिर १, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।