दोलखा / नेपालमा पहिलो पटक आयोजना गरीएको ‘हाइ अल्टिच्युड रिङ रेस्लिङ’ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रधा भएको थियो ।
प्रतियोगितामा ‘चट्टान’ हेभी वेट च्याम्पीयन भएका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहित आरडब्लू बेल्ट प्राप्त गरेका छन ।
प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।
लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।






