टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

|

काठमाडौ । ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए ।

यसअघि टि-२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

पाकिस्तानले आफ्नो दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ । भारतले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

२०७८ कार्तिक ७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।