ढुक्क हुनुहोस् सरकार परिवर्तन हुँदैन: मन्त्री गुरुङ

|

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

“मुलुकलाई अघि बढन नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन”, शनिबार काठमाडौंमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन)को २७औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, ढुक्क हुनुहोस् सरकार परिवर्तन हुँदैन, मुलुकको समृद्धिको अभियान अझ गतिका साथ अघि बढ्छ ।

मन्त्री गुरुङले पुनस्थापित प्रतिनिधिसभामा विश्वासको मत लिएर अघि बढन आफूहरु सक्षम हुने दाबी पनि गर्नुभयो ।

मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो बनाउन राजश्व कम गर्ने योजना पनि रहेको सुनाउनुभयो । डिजिटल नेपाल निर्माणका लागि सरकारले नीति कार्यक्रम अघि सारेको बताउँदै त्यसका लागि मन्त्रालयले डिजिटल फ्रेमवर्क कमिटी गठन गरेको जानकारी समेत दिनुभयो ।

डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि पनि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको बताउनुभयो ।

मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन क्यान फेडेरेसनलगायतका निजी क्षेत्रलाई आह्वान समेत गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै राजनीतिक स्थिरताका लागि दलहरुलाई आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना,सञ्चार प्रविधिलाई शहर केन्द्रितभन्दा पनि गाउँ केन्द्रित गर्नुपर्ने माग गर्नुभयो ।

महासङ्घका अध्यक्ष नवराज कुँवरले सञ्चार प्रविधिका माध्यमले अन्य क्षेत्रमा समेत विकास गर्न सकिने हुँदा त्यसमा लगानी गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यसका लागि समन्वयकारी भूमिका खेल्न महासंघ तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

२०७७ फाल्गुन १५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।