काठमाडौं। जनस्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय पिताम्बर अर्यालले ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन्। भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट उनले विद्यावारिधि पूरा गरेका हुन्। विपद्का कारण समाज र अर्थतन्त्रमा पर्ने प्रभाव तथा त्यसको व्यवस्थापनका विषयमा लामो समयदेखि कार्यरत अर्यालको अनुसन्धानलाई उनको व्यावसायिक अनुभवसँग समेत जोडिएको उपलब्धिका रूपमा हेरिएको छ।
डा. अर्यालले यसअघि युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र तथा नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरिसकेका छन्। विपद् जोखिम न्यूनीकरण, जनस्वास्थ्य, आपत्कालीन व्यवस्थापन र संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी समय नीतिगत तथा स्थलगत तहमा काम गरेका अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), डेनिस रेडक्रस र क्यानेडियन रेडक्रस लगायतका संस्थामा एक दशकभन्दा बढी समय विभिन्न नेतृत्वदायी भूमिकामा काम गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीको महासचिवसमेत भइसकेका अर्यालले स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग र युवा रेडक्रस विकास विभागको नेतृत्वसमेत गरेका थिए। सामुदायिक विकास, आपत्कालीन प्रतिकार्य तथा पुनर्स्थापनाका क्षेत्रमा उनको विशेष अनुभव रहेको छ। व्यावसायिक अनुभवलाई अनुसन्धानसँग जोड्दै विद्यावारिधि पूरा गरेका अर्याल हाल ‘नेपाल युनाइट्स’ का वरिष्ठ सल्लाहकार तथा ‘डीपीनेट नेपाल’ का सल्लाहकारका रूपमा कार्यरत छन्। त्यसैगरी उनी जाइका एल्युम्नाई एसोसिएसन अफ नेपाल (जान) र प्रेस एसोसिएसन अफ नेपाल (प्यान) का आजीवन सदस्यसमेत हुन्। तीन दशकभन्दा बढी समय विपद् र जनस्वास्थ्यका क्षेत्रमा हासिल गरेको अनुभवपछि सामाजिक–आर्थिक प्रभावमै केन्द्रित रहेर विद्यावारिधि पूरा गर्नुलाई अर्यालको व्यावसायिक तथा शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।






