रसुवा बाढीपीडितका लागि गोल्डेन एबीसी एकेडेमीको २ लाख ३३ हजार बढी सहयोग

|

नेपालगन्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि बाँकेको गोल्डेन एबीसी एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २ लाख ३३ हजार ५ सय २१ सहयोग गरेको छ। प्राकृतिक विपत्तिको कठिन घडीमा मानवीय सेवा र सहयोग नै सबैभन्दा ठूलो धर्म भएको सन्देशसहित विद्यालय परिवारले उक्त रकम सहयोग गरेको हो।

विद्यालयका प्रबन्ध निर्देशक (एमडी) तथा सामाजिक अभियन्ता विकास बहादुर सिंहका अनुसार बाढीपीडित नागरिकहरूको पीडा कम गर्ने उद्देश्यले विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा विभिन्न सहयोगी हातहरूको सामूहिक प्रयासबाट उक्त रकम संकलन गरी सहयोग गरिएको हो। सिंहले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व मात्र नभई प्रत्येक नागरिकको मानवीय कर्तव्यसमेत भएको बताए।

“आफ्नो समाज र देश दुःखमा पर्दा चुपचाप बसेर हेर्न सकिँदैन,” उनले भने, “विपतमा परेका नागरिकको आँसु पुछ्न सक्नु नै वास्तविक मानवता हो।” उनले व्यक्तिगत स्वार्थ र प्रचारभन्दा माथि उठेर नेपालगन्जवासी तथा समग्र राष्ट्रको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरे। आगामी दिनमा सामाजिक सेवा, सद्भाव र मानवीय सहयोगका अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

गोल्डेन एबीसी एकेडेमी परिवारले प्रदान गरेको उक्त सहयोगले बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास लिइएको छ। विद्यालय परिवारले यस मानवीय अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। सिंहका अनुसार सद्भाव, सहकार्य र मानवीय सेवामार्फत नै समाज र राष्ट्रलाई अझ बलियो र एकताबद्ध बनाउन सकिन्छ।

२०८३ भाद्र २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।