नरैनापुरबाट ठूलो संख्यामा पार्टी प्रवेश गराउने तयारी
नेपालगञ्ज । श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई (हर्क साम्पाङ) भदौ १३ गते बाँकेको नेपालगञ्ज आउने भएका छन्।
अध्यक्ष साम्पाङको नेपालगञ्ज भ्रमणको तयारी तथा कार्यक्रमबारे जानकारी दिन श्रम संस्कृति पार्टी बाँकेले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा पार्टीले साम्पाङको भ्रमण मुख्यतः राजनीतिक तथा सांगठनिक गतिविधिमा केन्द्रित हुने जनाएको छ।
पार्टीका अनुसार साम्पाङले धरानमा स्थानीय श्रम, उत्पादन र आधुनिक प्रविधिको संयोजनमार्फत विकासको अभियान सञ्चालन गर्दै आएका छन्। भ्रष्टाचारविरुद्धको अभियानसँगै नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्ने विषयमा उनले निरन्तर आवाज उठाउँदै आएको पार्टीको भनाइ छ।

धरानको खानेपानी समस्या समाधानका लागि कोका खोलाबाट श्रमदानमार्फत पानी ल्याउने अभियान, स्थानीय उत्पादन प्रवर्द्धन, विभिन्न पार्क तथा संरचना निर्माण र विपन्न परिवारका लागि घर निर्माणलगायतका काममा साम्पाङको नेतृत्वदायी भूमिका रहेको पार्टीले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक संरक्षण र प्रवर्द्धनका लागि पनि श्रमदानमार्फत विभिन्न संरचना निर्माण गरिएको पार्टीले जनाएको छ। दार्चुलामा झोलुङ्गे पुल, ओखलढुंगामा आरसीसी पुल तथा धरानलगायत विभिन्न स्थानमा पुल निर्माणमा श्रमदान गरिएको पार्टीको दाबी छ।
सुनसरीको धरानबाट संगठन विस्तार सुरु गरेको श्रम संस्कृति पार्टीले अहिले देशका विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेको जनाएको छ। बाँकेका आठवटै स्थानीय तहका ८१ वटै वडामा संगठन विस्तार गरी आगामी स्थानीय निर्वाचनमा सहभागिता जनाउने लक्ष्य पार्टीले लिएको छ।

पार्टीका अनुसार बाँकेका अधिकांश स्थानीय तहमा संगठन गठन भइसकेका छन्। हरेक शनिबार श्रम अभियान सञ्चालन गर्दै श्रमको महत्व, सामाजिक सहभागिता र देश विकासमा नागरिकको भूमिकाबारे जनचेतना फैलाउने काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यसैबीच, अध्यक्ष साम्पाङको नेपालगञ्ज भ्रमणका क्रममा नरैनापुर गाउँपालिकाबाट ठूलो संख्यामा व्यक्तिहरूलाई श्रम संस्कृति पार्टीमा प्रवेश गराउने तयारी रहेको पार्टीले जनाएको छ। पार्टी प्रवेश कार्यक्रमलाई भ्रमणको महत्वपूर्ण राजनीतिक तथा सांगठनिक गतिविधिका रूपमा अघि बढाइने जनाइएको छ।
पार्टीले अध्यक्ष साम्पाङको नेपालगञ्ज भ्रमणलाई आगामी दिनमा बाँकेमा संगठन विस्तार र स्थानीय तहमा पार्टीको राजनीतिक उपस्थिति बलियो बनाउने अवसरका रूपमा लिएको छ। पत्रकार सम्मेलनमा श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष श्रीमान थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष ओमकार थापा, प्रदेश सहकोषाध्यक्ष रामचरण चौधरी, प्रदेश सदस्य ज्योति परियार, दिनेश गुरुङ, जिल्ला संगठन विभाग प्रमुख तथा कार्यक्रम संयोजक राजन राना मगर, विशिष्ट नेता कस्मीरा खातुन, ईम्तियाज राई र जिल्ला उपाध्यक्ष मेघराज सुनार, गगन सिंह थापा लगायत नेताहरूको सहभागिता रहेको थियो।






