आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती नेपालगञ्जमा भव्य रूपमा मनाइयो

|

नेपालगञ्ज / आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती नेपालगञ्जमा विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइएको छ।

महेन्द्र पुस्तकालयका सचिव सतीश निरौलाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बिहान नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा रहेको आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो। त्यसपछि त्रिवेणी मोड, त्रिभुवन चोक हुँदै महेन्द्र पुस्तकालयसम्म प्रभातफेरी निकालिएको थियो।

भानुजयन्ती समारोहका आयोजक संस्था महेन्द्र पुस्तकालय नेपालगञ्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति तथा भेरी साहित्य समाज नेपालगञ्जले लामो समयदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आएका साहित्यकार सनत रेग्मी र विष्णुलाल कुमाललाई नागरिक अभिनन्दनसहित दोसल्ला, माला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका छन्।

प्रभातफेरीपछि महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित औपचारिक समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले समाजमा प्रत्येक व्यक्तिले सकारात्मक योगदान दिनुपर्ने उल्लेख गर्दै सत्कर्मबाट मात्रै जीवन सार्थक बन्ने धारणा व्यक्त गर्नुभयो।

सम्मानित साहित्यकारद्वयलाई आयोजक संस्थाका अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, इन्द्रबहादुर बस्नेत र बलराम यादवसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरू मीना श्रेष्ठ, अम्बिका काफ्ले तथा मन्त्री भण्डारीलाल यादवले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा डा. हरि तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको ऐतिहासिक योगदानबारे चर्चा गर्नुभएको थियो। सम्मानित साहित्यकारद्वय सनत रेग्मी र विष्णुलाल कुमालले सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साहित्य साधनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, महेन्द्र पुस्तकालयका पूर्वअध्यक्ष तथा समाजसेवी कन्हैयालाल टण्डन, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर, जिल्लाका अग्रज साहित्यकार, लेखक, सामाजिक तथा राजनीतिक अगुवा, उद्योगी–व्यवसायी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा महेन्द्र पुस्तकालयको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा सम्पन्न निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो। प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुरका महेश्वर उपाध्याय प्रथम, होलील्याण्ड विद्यालय, नेपालगञ्जकी स्वस्तिका यादव द्वितीय, मंगल माध्यमिक विद्यालय, नेपालगञ्जकी गोमा त्रिपाठी तृतीय तथा त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुरकी गुराँस चन्द ठकुरी सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजेताहरूलाई प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र अम्बिका काफ्लेले नगद, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता महेन्द्र पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको थियो। स्वागत मन्तव्य बलराम यादवले राख्नुभएको थियो भने सम्मान आयोजक संस्थाहरूका तर्फबाट इन्द्रबहादुर बस्नेतले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।

२०८३ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।