गीतकार ‘देवदूत’को हृदयस्पर्शी ‘कतै देखिँदैनौ’ बजारमा (भिडियोसहित)

|

काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा अग्रसर गीत तथा गजलकार विदुर तिमल्सिना ‘देवदूत’ को नयाँ हृदयस्पर्शी आधुनिक गीत ‘कतै देखिँदैनौ’ सार्वजनिक भएको छ। प्रेम, विरह, मानवीय संवेदना र गहिरो भावनात्मक अनुभूतिलाई सशक्त शब्दमा उनिएको यो गीत भिडियोसहित बजारमा आएको हो।

यसअघि नै विभिन्न चर्चित गायक–गायिकाहरूको स्वरमा दर्जनभन्दा बढी लोकप्रिय गीतहरू स्रोतामाझ पस्किसकेका गीतकार तिमल्सिनाको यो नयाँ सिर्जनाले पनि नेपाली सुगम संगीतमा अर्को इँटा थपेको छ।

गीतमा वरिष्ठ तथा प्रख्यात गायक एवं संगीतकार राज सागरको अत्यन्तै सुमधुर स्वर र कर्णप्रिय संगीत रहेको छ। गीतलाई अझ जीवन्त र सुमधुर बनाउन नेपालका स्थापित एरेन्जर राजन इशानले संगीत संयोजन गरेका छन्। संगीत प्रेमीहरूको मन छुने गरी यस गीतको ध्वनि मिश्रण तथा मास्टरिङ प्रकाश मिश्रले अक्वेस्टिक नेपाल स्टुडियोमा निकै उत्कृष्ट ढंगले सम्पन्न गरेका हुन्।

गीतको सांगीतिक प्रस्तुति र कम्पोजिसनलाई थप जीवन्त बनाउन नेपालका कुशल वाद्यवादकहरूको योगदान गरेका छन् । गीतमा तबलामा अनन्त प्रजापति, भायोलिनमा यतिराज अधिकारी, बाँसुरीमा रोहित भाट, रिदम गितारमा सञ्जीव गौतम तथा बास गितारमा अविस सुन्दासको बेजोड वादन कला सुन्न सकिन्छ। लाइभ इन्स्ट्रुमेन्टहरूको सुन्दर प्रयोगले गीतलाई स्तरीय र सुन्न लायक बनाएको छ।

गीतको अडियो जति बलियो छ, यसको दृश्य निर्माण र भिडियो पनि उत्तिकै स्तरीय बनेको छ। लाइमलाइट नेपालको ब्यानरमा दृश्य निर्माण गरिएको यस भिडियोलाई कुशल छायाकार रामकुमार केसी ले क्यामेरामा कैद गरेका हुन्। भिडियोको छायाङ्कन टोलीमा सन्त बहादुर थापा ‘मिलन’, ईश्वर बल्लभ उप्रेती, पुरुषोत्तम नेपाल र उमेश बहादुर शाह रहेका छन्। खिचेका सुन्दर दृश्यहरूलाई चर्चित भिडियो सम्पादक टेकेन्द्र शाहले आकर्षक रूपमा सम्पादन गरेका छन्।

उत्कृष्ट शब्द, सुमधुर गायकी, कर्णप्रिय संगीत र उत्कृष्ट दृश्य संयोजनका कारण सार्वजनिक भएको छोटो समयमै यस गीतले संगीतप्रेमी दर्शक तथा स्रोतामाझ निकै राम्रो प्रभाव जमाउन सफल भइरहेको छ।

२०८३ असार २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।