बाँके (कोहलपुर) / चौथो ‘कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब ले पाहुना पञ्चकोशी युवा क्लब लाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
तेह्र बिघा खेल मैदानमा भएको खेलमा आयोजक टोलीका डिफेन्डर पेपे (जर्सी नं. १५) ले २४औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफकै ४४औं मिनेटमा जर्सी नं. ११ का फागुराम चौधरीले अर्को गोल थप्दै आयोजकलाई २–० को अवस्थामा पुर्याए।
दोस्रो हाफमा पाहुना टोलीले गोल फर्काउने प्रयास तीव्र बनाएको थियो। अन्ततः ८८औं मिनेटमा पञ्चकोशीका कुशाग्र उप्रेतीले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन नसक्दा टोली २–१ ले पराजित हुन पुग्यो।
प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण आचार्यले गरेका हुन्। वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा भइरहेको छ।
यस संस्करणमा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरूमा लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी, रोयल फुटबल क्लब, राइजिङ स्टार क्लब तथा नेपाल पुलिस क्लब रहेका छन्।
प्रतियोगिता अन्तर्गत वैशाख २० गते जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली)बीच खेल हुनेछ। २१ गते लालीगुराँस एसोसिएसन क्लब (पोखरा) र सातदोबाटो युवा क्लब (ललितपुर) आमनेसामने हुनेछन् भने २२ गते विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता राइजिङ स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आठ टोलीमध्ये उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो सेमिफाइनल वैशाख २३ गते र दोस्रो सेमिफाइनल २४ गते हुनेछ। फाइनल खेलमा विजयी हुने टोलीले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसअघि पहिलो संस्करणको उपाधि एफसी क्लब क्यामरुनले जितेको थियो भने दोस्रो संस्करणमा त्रिभुवन आर्मी क्लब र तेस्रो संस्करणमा राइजिङ स्टार क्लबले उपाधि हात पारेका थिए।






