काठमाडौं / सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडमी’ बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार पार्टीले योग्य, सक्षम र प्रशिक्षित नेतृत्व चयन गर्ने उद्देश्यले यस्तो मापदण्ड लागू गरेको हो।
उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन रास्वपाले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति” गठन गरेको थियो। उक्त समितिले तयार पारेको “स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३” को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछाने लाई हस्तान्तरण गरिएको छ।
काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा विस्तृत छलफल भइरहेको पार्टीले जनाएको छ।
रास्वपाको यो निर्णयले आगामी निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।






