निर्धन उत्थान लघुवित्त उदयपुर शाखाद्वारा कार्यशाला तथा छात्रवृत्ति–बीमा वितरण कार्यक्रम सम्पन्न

|

बाँके । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय उदयपुरको आयोजनामा शाखा प्रमुखहरूसँग कार्यशाला तथा विभिन्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ का वडा अध्यक्ष गोविन्द रेग्मी तथा विशिष्ट अतिथि संस्थाका क्षेत्रीय प्रमुख पूर्ण बहादुर खडका उपस्थित थिए । साथै अतिथिका रूपमा परसपुर शाखाका प्रमुख शान्ति सापकोटा, राझा शाखाका प्रमुख मनोज अधिकारी, पत्रकार सोम गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उदयपुर शाखाका प्रमुख उमानन्द तिमिल्सेनाले संस्थाको उद्देश्य, सेवा तथा कार्यक्रमबारे जानकारी गराएका थिए । सो अवसरमा “हरिहर देव पन्थ स्मृति छात्रवृत्ति” अन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । लालीगुराँस महिला समूहकी सदस्य आरती गौतमका छोरा सक्षम गौतम र पहाडीयनपुर महिला समूहकी सदस्य शुशिला बिष्टकी छोरी दीपा कुमारी डाँगीलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको हो ।

यस्तै, बीमा दाबी भुक्तानी अन्तर्गत बुलबुलिया महिला समूहकी सदस्य विमला खड्काका श्रीमान् चुरा बहादुर खड्काको मृत्यु बापत ३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको थियो । नयाँबस्ती महिला समूहकी सदस्य कौशिला सुनारका श्रीमान् वेग बहादुर सेन्चुरीलाई २ लाख ८६ हजार रुपैयाँ तथा बच्चुपूर्वा महिला समूहकी सदस्य लक्ष्मी सिंहको मृत्यु बापत ६ लाख ५० हजार रुपैयाँ बराबरको बीमा रकम वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा विभिन्न केन्द्रहरूलाई उत्कृष्टताको आधारमा पुरस्कृत समेत गरिएको थियो । जसअन्तर्गत पहाडियनपूर्वा महिला समूह प्रथम, फुल्टेक्रा ‘ग’ महिला समूह द्वितीय र फूल्टेक्रा महिला समूह तृतीय भएका थिए भने पहाडियनपूर्वा ‘ख’ समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट केन्द्र प्रमुखको रूपमा नसिम बानो अन्सारी र अनुशासनतर्फ उत्कृष्ट केन्द्र प्रमुखका रूपमा कल्पना शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रमले संस्थाका सदस्यहरूबीच सहकार्य, वित्तीय सचेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । सो कार्यक्रमको सञ्चालन शाखाका लेखापाल नन्द कुमार गौतमले गरेका थिए।

२०८३ बैशाख ९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।