लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन चैत्र ७ गते हुँदै

|

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा चौथो संस्करणको लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन आगामी चैत ७ गते लुम्बिनी मा आयोजना हुने भएको छ।

खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको म्याराथनबारे जानकारी दिँदै संयोजक तथा एनओसीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य ले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा कार्यक्रम गर्न लागिएको बताए।
उनका अनुसार प्रत्येक वर्ष अप्रिल ६ मा मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस बाट प्रेरित भई उक्त म्याराथन सञ्चालन हुँदै आएको हो। एनओसीले सन् २०२२ देखि यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।

यस संस्करणमा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी दौड (पुरुष/महिला), ५ किमी स्कुल ब्वाइज/गल्र्स तथा भेट्रान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। साथै ३ किमी खुल्ला पिस वाकाथन पनि आयोजना गरिनेछ। प्रतियोगितामा करिब १,२०० जना खेलाडी तथा सहभागीहरू रहने अपेक्षा गरिएको छ।

चौथो संस्करणको कुल पुरस्कार राशि रु १७ लाख ६९ हजार निर्धारण गरिएको छ। पुरुष म्याराथनतर्फ विजेताले रु ३ लाख ५० हजार, उपविजेताले रु २ लाख ५० हजार र तेस्रो हुनेले रु १ लाख ५० हजार प्राप्त गर्नेछन्। शीर्ष दशभित्र पर्ने धावकहरूलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

महिला हाफ म्याराथनतर्फ विजेताले रु १ लाख ५० हजार, उपविजेताले रु १ लाख, तेस्रो हुनेले रु ८० हजार, चौथो हुनेले रु ५० हजार र पाँचौँ हुनेले रु ३० हजार पुरस्कार पाउनेछन्। अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर तथा महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बनेका थिए। यसपटकको संस्करणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकलाई एकै स्थानमा ल्याउँदै खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

२०८२ चैत्र ४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।