सोम गुरुङ,बर्दिया । एफ.सी. डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा सञ्चालन भइरहेको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलबाट वडा नम्बर २ फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा वडा नम्बर २ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर १ ‘बी’ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल चरणको यात्रा तय गरेको हो।
वडा नम्बर २ का जर्सी नम्बर १२ का विकास मगर खेलका नायक बने। उनले टोलीका लागि तीनै गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे। त्यसैगरी, वडा नम्बर १ ‘बी’ का तर्फबाट जर्सी नम्बर ५ का विनोद शाही ले एक गोल गर्न सफल भए।

आयोजक टिमका अध्यक्ष विकल सिंह ले जानकारी दिएअनुसार माघ १६ गते हुने फाइनल खेलमा वडा नम्बर १ ‘ए’ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै आपसी सद्भाव र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।






