राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार आप्रवासी भिसालाई संकुचित बनाउन विभिन्न खाले नियम जारी गरेपछि सन् २०२० को डिभी लोटरी परेका नेपालीको अमेरिकी सपना पनि पुरा हुने भएन ।२०२० को डिभी लोटरीमा समेत अब कोही अमेरिका आउन पाउनेछैनन् ।
आप्रवासी भिसालाई संकुचित बनाउन उनले जारी गरेको आदेश डिसेम्बरसम्म लागु हुने भनिएको छ। जबकि सन् २०२० को डीभी लटरी परेका ‘भाग्यमानी’ अक्टोबरभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने हुन्छ। यो आदेशसँगै अव त्यो प्रवेशको सम्भावना टरेको छ।
यसरैगरी रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा गत अप्रिलमा लगाएको प्रतिबन्ध सन् २०२० को डिसेम्बरसम्मका लागि बढाइएको छ।
यो प्रतिवन्धका कारण परिवारमा आधारित ग्रिनकार्डमा कोही पनि अमेरिका आउन पाउने छैनन्। तर, अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष पुगेका छोराछोरी भने आप्रवासी भिसामा अमेरिका आउन सक्नेछन्।
राष्ट्रपति ट्रम्पको छवि आप्रवासीमैत्री छैन। अमेरिका फस्ट भनेर सन् २०१६ मा पहिलो कार्यकालका लागि चुनाव जितेका उनी आफ्नो त्यही छवि कायम राखेर आगामी नोभेम्बर हुने चुनाव पनि जित्न चाहन्छन्। उनको प्रशासनले जारी गरेको यो पछिल्लो नियम पनि चुनावी जोड घटाउमै आधारित भएको अनुमान गरिदैछ।
यसैगरी यो वर्षभरि नै रोजगारमा आधारित एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा समेत रोक लगाइएको छ।






