नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले कोभिड–१९ को महामारीमा नेपाल पत्रकार महासंघलाई सहयोग गरेकालाई सम्मान प्रदान गरेको छ । शुक्रबार नेपालगञ्जमा कोेभिड सम्मान र शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेर कोभिडका समयमा महासंघलाई सहयोग गर्नेहरुलाई प्रसंशा पत्रले सम्मान प्रदान गरेको हो ।
महासंघले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा र जे शर्मा मेडिकलका संचालक जिवन शर्मालाई सम्मानित गरिएको हो ।
यस्तै वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्ट पनि सम्मानित हुनुभएको छ । सम्मानित व्यक्तिहरुले कोभिड महामारीमा पत्रकारहरुलाई विभिन्न खाले स्वास्थ्य सामग्री सहयोग पुर्याएको महासंघका सचिव कमल डाँगीले बताउनुभयो ।
महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेल, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यस्तै महासंघले नेपालमै पहिलोपटक बाँकेका ३५३ जना पत्रकारहरुको २ लाख बराबरको वीमा समेत गरेको जनाएको छ । हाल बेलायतमा रहेका बरिष्ठ सर्जन डा. राम कुमार श्रेष्ठ र डा. निर्मला श्रेष्ठको तर्फबाट एम्बुलेन्स खरिद गर्नको लागि रु. ५१,१११ को चेक बरिष्ठ पत्रकार पुर्णलाल चुकेले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।