नेपालगञ्ज । बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाले सहभागी पत्रकारहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । परीक्षणका क्रममा कानको श्रवण क्षमता (प्योर टोन अडियोमेट्री–पीटीए) परीक्षण समेत गरिएको ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
डा. झाले अधिकांश पत्रकाहरुमा कान सफा गर्ने नाममा बारम्बार इयर बड (कटन बड) प्रयोग गर्ने बानीका कारण कानको भित्री छाला सुख्खा हुने समस्या देखिएको बताउनुभयो । उहाँले कानको स्वास्थ्य जोगाउन अनावश्यक रूपमा इयर बडको प्रयोग नगर्न समेत सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई व्यवसायिक जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यप्रति पनि सचेत र जिम्मेवार बनाउन महासंघले समय–समयमा विभिन्न स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । यसै अभियान अन्तर्गत यस पटक नाक, कान तथा घाँटी रोग सम्बन्धी विशेष स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार शिविरमा ४० जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झा, ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढा तथा कमल बुढासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको थियो । शिविरका लागि आवश्यक औषधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगञ्ज इकाई (एनएमएसआरए) ले उपलब्ध गराएको थियो ।






