पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन

|

पेरु । जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो ।

जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ । गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् । छाला क्यान्सरका बिरामी रहेका गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि बन्दी बनाएर राखिएको थियो ।

गोञ्जालो पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष​ हुन् । पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा नेसनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालोलाई फुजिमोरो सत्ताले आजीवन कारागारको सजाय सुनाइएको थियो । गोञ्जालोले पेरुमा सन १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए । सोही बीचमा उनी पक्राउ परेका थिए । विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।