बाँके र बर्दियाका युवा उद्यमीलाई स्थानीयस्तरमै तालिम, परामर्श र बजारसँग जोड्ने लक्ष्य
नेपालगन्ज। युवा कृषि उद्यमीहरूको क्षमता अभिवृद्धि तथा कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा प्रारम्भिक कार्यशाला सम्पन्न भएको छ। वर्ल्ड फूड फोरम नेपाल (डब्लुएफएफ नेपाल) को आयोजनामा तथा क्यानडा सरकारको क्यानडा फन्ड फर लोकल इनिसिएटिभ्स (सीएफएलआई) को आर्थिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो
बाँके र बर्दियाका युवा नेतृत्वमा सञ्चालित प्रारम्भिक चरणका कृषि व्यवसायलाई क्षमता विकासमार्फत सहयोग गर्ने उद्देश्यले सञ्चालन हुन लागेको ‘Supporting Youth-led Early-Stage Agribusiness in Nepal by Capacity Building through Localized Municipal Youth Food Accelerator Lab’ परियोजनाको कार्यान्वयन तथा गतिविधिको औपचारिक सुरुवातका रूपमा कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यशालामा स्थानीय सरकारका प्रतिनिधि, युवा कृषि उद्यमी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा र विकास क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा युवा नेतृत्वमा कृषि व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण निर्माण, स्थानीयस्तरमा उपलब्ध अवसर तथा चुनौती र उद्यमीलाई सहयोग पुर्याउने उपायबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले युवा कृषि उद्यमशीलताको प्रवर्द्धनका लागि स्थानीय तह, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
त्यसैगरी गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, नेपाल युवा परिषद् लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली तथा सामाजिक अभियन्ता साहिल अन्सारीलगायतले युवा कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विषयमा आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।
सो कार्यक्रममा परियोजना संयोजक प्रेमप्रकाश बुढाथोकीले परियोजनाको लक्ष्य, उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराएका थिए। उनले स्थानीयस्तरमै युवा कृषि उद्यमीको क्षमता विकास, व्यावसायिक सीप अभिवृद्धि तथा कृषि व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन परियोजनाले सहयोग पुर्याउने उद्देश्य राखेको स्पष्ट पारेका थिए।
परियोजना अन्तर्गत डब्लुएफएफ नेपालले ‘म्युनिसिपल युथ फूड एक्सेलरेटर ल्याब’ अर्थात् नगरस्तरीय युवा खाद्य तथा कृषि उद्यम प्रवर्द्धन प्रयोगशाला स्थापना गर्ने जनाएको छ। यी प्रयोगशालामार्फत युवा उद्यमीलाई स्थानीयस्तरमै मार्गदर्शन, व्यावसायिक परामर्श, प्राविधिक सीप विकास तथा सम्भावित लगानीकर्ता र खरिदकर्तासँग सम्बन्ध विस्तार गर्ने अवसर उपलब्ध गराइनेछ।
केन्द्रमा सीमित कार्यक्रमभन्दा स्थानीय आवश्यकता र सम्भावनामा आधारित सहयोगलाई प्राथमिकता दिँदै बाँके, बर्दिया र कैलालीका स्थानीय तहसँग प्रत्यक्ष सहकार्य गर्ने परियोजनाको योजना रहेको छ। यसले कृषि क्षेत्रमा नयाँ व्यवसाय सुरु गर्न चाहने तथा प्रारम्भिक चरणमा रहेका युवा उद्यमीलाई व्यवसाय विकास र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वर्ल्ड फूड फोरम नेपाल खाद्य तथा कृषि प्रणालीको रूपान्तरणमा युवाको सहभागिता बढाउन सक्रिय युवा सञ्जाल हो। खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा सहजीकरण गरिने विश्वव्यापी वर्ल्ड फूड फोरम अभियानसँग आबद्ध यस सञ्जालले दिगो कृषि, ग्रामीण रोजगारी र जलवायु अनुकूल समाधानमा युवालाई परिचालन गर्दै आएको छ।
कार्यशालामा सहभागी सरोकारवालाबाट संकलित सुझाव तथा प्रतिक्रियाका आधारमा आगामी नगरस्तरीय युवा खाद्य एक्सेलरेटर ल्याबको पाठ्यक्रम, कार्यक्रमको स्वरूप र सहभागी छनोट प्रक्रिया तय गरिने आयोजकले जनाएको छ। यस्तै प्रकृतिको प्रारम्भिक कार्यशाला कैलाली जिल्लामा पनि आयोजना गर्ने तयारी गरिएको छ।
स्थानीय सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य विस्तार गर्दै युवालाई स्वदेशमै कृषि उद्यममार्फत रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्षम बनाउने परियोजनाको लक्ष्य रहेको छ।







