एसइई परीक्षालाई आन्तरिक मूल्याङ्कनको आधारमा मान्यता दिने प्रस्ताव

|

काठमाडौं / सरकारले कोरोना भाइरस कारण सिर्जित परिस्थितिका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष कानूनीरुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नतिजा सार्वजनिक हुनेछ ।

गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । यसअघि विभिन्न शिक्षा सम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो । तर सरकारले निर्णय गर्न ढिलाइ गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा तनाव सिर्जना हुँदै आएको छ । योसहित मन्त्रिपरिषद्को निर्णयहरु औपचारिकरुपमा बिहीबार मात्रै सार्वजनिक गरिने बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बुधबारको मन्त्रिपरिषद् बैठकमा यसवर्षका लागि एसइई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा मन्त्रालयले सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्पसहित प्रतिवेदन बुझाएको थियो ।

२०७७ जेष्ठ २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।