कसरी मनाउन सक्छु म तिम्रो विजयोत्सव

|

यतिखेर मृत्युले उत्सव मनाउँदै छ,
कसरी मनाउन सक्छु म तिम्रो विजयोत्सव,
जन्मोत्सव ,
वैवाहिक वर्षोत्सव,
यतिखेर,म र सायद देशकै प्रतिरक्षा प्रणाली कमजोर छ।
त्यसैले भोजमा पनि सरिक हुन सकिनँ।
तै पनि तिमीलाई टाढैबाट शुभकामना
तिम्रो उत्सवको।

हेरिरहेको छु तिम्रो उत्सवको ढाँचा टाढैबाट
जसरी हेरिरहेका हुन्छन् स
कोरोना संक्रमितको छोरो र श्रीमतीले,
बा र पतिको छिटोछिटो चलिरहेको छाती,
जसरी हेरिरहेका हुन्छन् साना नानीहरू टाढैबाट
आफ्ना बाको सेतो पोकाभित्रको लाश
जुन डोजरले उचालेर चित्तमा चढाइ रहेको हुन्छ ।

कसरी बताउँ उत्सवमा सरिक हुन नसकेको ब्यथा,
जूनबेला तिमी ठूलो आवाजमा भषण गर्दै थियौ
हो,त्यहीबेला भीडको बीचमा तिम्रो समर्थनमा ताली पिट्दै थिएँ।
हो,त्यही दिनबाट म थाला परेको,
म त उठेँ,बा ढले ।
तिमी सरकार जोगाउन र ढाल्न गुहार माग्दै थियौ
म अस्पतालमा बाका लागि बेड,अक्सिजन र आईसियुका लागि।
यसैबीच तिमीले कुर्सीका लागि साइरन बजाउदै दौडदै थियौ ।
धेरै बा,आमा,दाजुभाइहरू
अस्पतालको बेडका लागि एम्बुलेन्सको साइरन बजाउदै दौडदै थिए।
यतिन्जेल,
धेरै बाहरू,आमाहरू, सेतो पोकाभित्र लाश भैसकेका थिए।
तिमी अग्लो आशनमा चढेउ।
उनीहरू चितामा चढे।
त्यसैले म शोकमा छु,
यस्तो बेला,कसरी हर्षोउल्लास मनाउँ ?
तैपनि हार्दिक शुभकामना तिमीलाई सद्बुद्धी आओस् ।
तिमीलाई ढाल्न नसक्नेलाई हार्दिक समवेदना,
जसले भूतले खाना खानेबेला सारंगी बजाए।
हार्दिक श्रद्धाञ्जली,
अकालमै संसार छोड्न विवस प्यारा मान्छेहरू।
प्रार्थना गर्द्छु,अब यस्तो कहिल्यै नहोस।

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।